किशोरी अवस्थामै आमा
दाङ | माघ १८, २०७९
फाइल तस्बिर
घोराही: बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो।
विवाह भएपछि नयाँ घरको बुहारी बन्नुभएकी पशुपति घरको काममा लाग्न थल्नुभयो। तर, उहाँसँगैका साथीहरू भने पढ्दै गरेका थिए। “साथीहरू पढ्दै छन्, उनीहरूले पढेको देख्दा रहर लाग्छ,” उहाँले भन्नुभयो, “तर मैले विवाह गरेपछि घरको काममा लागेँ, पढ्न सकिनँ।” त्यसैमा पछिल्लो समय बच्चासमेत भएकाले थप समस्या हुन पुग्यो। सुरुमा रहरमै विवाह गरे पनि अहिले पढेको भए हुन्थ्यो झैँ लाग्ने गरेको उहाँले बताउनुहुन्छ।
बङ्गलाचुली–८, हाँसीपुरकै भुमा दर्लामी पनि १८ वर्षको उमेरमा आमा बन्नुभयो। तीन वर्षअघि भागी विवाह गर्नुभएकी भूमासँग अहिले आठ महिनाको बच्चा छ । कक्षा १० मा पढ्दै गर्दा भागेर विवाह गर्नुभएकी भुमाले पनि पढाइ छोड्नु परेको थियो। श्रीमान् कमाउनका लागि छिमेकी देश भारत गएपछि भूमालाई बच्चासँगै घर व्यवस्थापनको समेत जिम्मेवारी थपियो। त्यसमाथि सासुससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि उहाँमाथि नै आइप(यो।
पशुपति र भूमा मात्रै होइन, पछिल्लो समय यस जिल्लाको विकट क्षेत्र बङ्गलाचुली गाउँपालिका–८ का अधिकांश किशोरी १४ देखि १६ वर्षकै उमेरमा विवाह गर्ने गरेका छन्। किशोरी उमरमै विवाह गर्नेहरूको सङ्ख्या बढ्दो गतिमा रहेको हाँसीपुर स्वास्थ्य चौकी इन्चार्ज देवीमाया बुढामगर बताउनुहुन्छ। उहाँका अनुसार स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न २० वर्षमुनिका गर्भवती किशोरीको सङ्ख्या बढी नै हुने गरेको छ । विवाह गर्ने उमेर महिलाका लागि २० भने पनि अधिकांशले १५र१६ वर्षकै उमेरमा विवाह गर्ने र २० वर्षअघि नै दुईदेखि तीनवटासम्म बच्चा जन्माइसक्ने गरेको इन्चार्ज बुढाले बताउनुभयो।
विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउने गरेका कारण स्वास्थ्यमा समस्यासँगै अधिकांश विवाहित किरोशीले पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो। “विवाह गरेर पढ्नेहरू गाउँमा देखिँदैन, अधिकांशले पढाइ छोडेका छन्,” उहाँले भन्नुभयो, “गाउँमा अहिले पनि विवाहपछि पढ्नुपर्छ भन्ने सोच छैन। विवाहित बुहारीले घरकै काम गर्नुपर्छ भन्ने मात्रै सोचिन्छ।”
सानो उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। बाल विवाह गर्ने धेरै भए पनि आधिकारिक तथ्याङ्क भने पालिकासँग छैन। विवाह गरेर किशोरी घरको काममा लाग्ने र श्रीमान् कमाउनका लागि विदेश जाने हुँदा गाउँका अधिकांशले स्कुल तहमै पढाइ छोड्ने गरेको हाँसीपुरका स्थानीय गोपालसिंह गाहामगर बताउनुभयो। “विवाह गरेपछि खर्च बढ्ने गर्छ, त्यसैले केटाहरू कमाउनका लागि बाहिर जाने गर्छन्,” उहाँले भन्नुभयो, “केटीहरू भने घरको काममा लाग्ने गर्छन्, जसका कारण उनीहरूको पढ्ने उमेर खेर जाने गरेको छ ।”
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

